वैशाख १६, २०८३, बुधबार, खप्तड छान्ना गाउँपालिका, बझांग -
सुदूरपश्चिम खप्तडछान्ना गाउँपालिकाका विभिन्न सहकारी संस्थाहरुलाई दिइएको ५ दिवसीय लेखातालिम सम्पन्न भएको छ । गाउँपालिका भित्रका फरकफरक विषयका विभिन्न नामका ७ वटा वडाका ७ वटा सहकारी संस्थाका व्यवस्थापक र पदाधिकारी गरी २२ जना सहभागीले सहकारीको लेखातालिम लिने अवसर पाएका छन् । मुख्य प्रशिक्षक दयाराम पण्डित र सहायक प्रशिक्षक धिरेन्द्र आर.सी. तथा कुम्भराज जोशीबाट सहकारीको लेखा व्यवस्थापन, आर्थिक कारोबार, गोश्वारा भौचर, चारखाता, संतुलन परीक्षण र वासलात सम्बन्धि तालिम दिइएको थियो ।
खप्तडछान्ना गाउँपालिकामा विगत ६ वर्ष देखि कृयाशील रहेका यी विभिन्न विषयका सहकारी संस्थाहरु सामाजिक परिचालनको विधिबाट बनेका समुदायमा आधारित सहकारी संस्थाहरु हुन् ।
ठूलाठूला सहकारी संस्थाहरुले विगत केही वर्षयता ब्यहोरेका जटिलता र सहकारीमा राष्ट्रव्यापी रुपमा देखिएका चुनौतीबाट यी सहकारी टाढा छन् । समुदायमा यी सहकारीको छबि उज्यालो छ । स्थानीय सरकारको सहयोगीका रुपमा समेत यी सहकारीले भूमिका निर्वाह गरेका छन् र समुदायको आर्थिक, सामाजिक विकासमा महत्त्वपूर्ण योगदान गर्दै आएका छन् ।
सहकारी सफलताका लागि सुशासन र पारदर्शिता अनिवार्य हुन्छ । त्यसका लागि लेखा व्यवस्थापन चुस्त-दुरुस्त हुन अनिवार्य छ । सोही उध्देश्यलाई पूरा गर्न सहकारी संस्थालाई सहयोग पुगोस् भनेर ग्रामीण स्वावलम्बन विकास केन्द्र (आरएसडिसी)ले यो तालिमको आयोजना गरेको थियो ।
आरएसडिसीले जर्मन सरकार र माल्टेजर इन्टर नेशनल (BMZ/MI) सँगको सहयोगमा खप्तडछान्ना गाउँपालिकामा "पिछडिएका समुदायको स्वास्थ्य, सरसफाइ, स्वच्छता तथा पिउने पानी(WASH) र जनजीविकाकालागि क्षमता वृद्धि परियोजना" संचालन गरेको छ । सोही परियोजनाका नियमित कार्यक्रम अन्तर्गत यो सहकारी लेखातालिम आयोजना भएको हो । आरएसडिसीले संचालन गरेको उक्त परियोजनाले स्थानीय सरकारको सहयोगी भै सहकारी संस्थाहरूसँग मिलेर समुदाय स्तरमा WASH र आयआर्जनका क्षेत्रमा सुदृढ क्षमताको विकास गर्न तथा लक्षित जनसंख्यालाई शुध्द खानेपानी, खाध्यान्न र सुधारिएका आयआर्जनका स्रोतहरुमा पहुँच पुर्याउन योगदान गर्ने उध्देश्य लिएको छ ।
