१४ जेठ, २०८३ (28 May, 2026), बिहिबार, खप्तडछान्ना गाउँपालिका, बझांग - 

सुदूरपश्चिम प्रदेशको खप्तडछान्ना गाउँपालिकाको विकट गोर्खाली गाउँका महिलाहरूले २८ मई २०२६, अर्थात जेष्ठ १४ गतेका दिन विभिन्न कार्यक्रम गरेर १२ औं अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसलाई प्रभावकारी तरिकाले मनाएका छन् । सो अवसरमा सामाजिक सचेतनाका लागि चेतनामूलक नारा लेखिएको ल्पेकार्ड सहित गाउँ परिक्रमा, छाउगोठमा बस्दा महिलाले भोग्नुपरेका हिंसाको वृत्तचित्र प्रदर्शनी, चेतनामूलक साँस्कृतिक कार्यक्रम भएको थियो । कार्यक्रमका सहभागी महिलाहरूले स्वच्छता र सुरक्षित महिनावारीका लागि प्याड र सावुन पाएका थिए । महिनावारी स्वच्छता दिवस कार्यक्रम सफल बनाउन ग्रामीण स्वावलम्बन विकास केन्द्र(RSDC) र ग्रिनतारा नेपाल संस्थाले सहजीकरण गरेका थिए ।

गोर्खाली गाउँ खप्तडछान्ना गाउँपालिकाको सबैभन्दा विकटमा पर्ने उच्च भेगमा रहेको अलग्गै टापु जस्तो छ । यहाँ १३० घरपरिवारको क्षेत्री समुदायको वस्ति छ । केही वर्ष अघिसम्म यस गाउँको सबैजसो घरमा अलग्गै छाउ गोठ अनिवार्य थियो । महिलाहरू महिनावारीमा छाउ गोठमा अनिवार्य बस्नुपर्थ्यो । छाउ गोठमा बस्दा यहाँका महिलाले ब्यहोरेका जोखिमपूर्ण घटना र हिंसाका दर्दनाक कथाहरू धेरै छन् ।

नेपाल सरकारले छाउपडी, छुवाछुत जस्ता अन्धविश्वास, रुढीबादी परम्परालाई बदल्नका बेग्लै कानुनी व्यवस्था गरेको छ । सरकारले बनाएको कानुनलाई प्रभावकारी बनाउन विभिन्न सामाजिक संघ-संस्थाले पनि सहयोग गर्दै आएका छन् र स्थानीय सरकारले पनि विभिन्न कार्यक्रम गर्दै आएको छ । तरपनि यो समस्या अझैसम्म पूर्णरूपमा निर्मुल हुन सकेको छैन ।

रुढीबाद र अन्धविश्वासमा जकडिएको समाजलाई पूर्णरूपमा रुपान्तरण गरेर अगाडि बढाउन गोर्खाली गाउँका स्थानीय महिलाले विगत केही वर्षयता संगठितरुपमा सक्रियता देखाएका छन् । यहाँका महिलाहरूको सक्रियतामा पुरुषहरुको पनि साथ सहयोग रहेको छ । अहिले गोर्खाली गाउँमा छाउगोठ हटेका छन् । महिनावारीलाई महिलाको इश्वरीय वरदान ह‍ो र प्रजनन अधिकारका हो भनेर समाजले पनि क्रमश बुझ्दै गएको छ । यस १२ औं अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस कार्यक्रम आफ्नो गाउँमा भव्यरुपमा मनाउन पाएकोमा गोर्खाली महिला दिदीबहिनीहरु अत्यन्त खुशी छन् ।