खप्तडछान्ना गाउँपालिकाका पिछडिएका समुदायहरु (विशेषगरी महिला) को स्वास्थ्य, सरसफाई, स्वच्छता तथा पिउने पानी WASH र जनजीविकाका लागि क्षमता वृद्धि परियोजना
संक्षिप्त चिनारी ः
परियोजनाको पृष्ठभूमिः

ग्रामीण स्वावलम्बन विकास केन्द्र (आरएसडिसी)ले बझाङको खप्तडछान्नामा मिति २०६९ देखि २०७७ सम्म “खाद्य सुरक्षा र संप्रभूताका लागि स्वावलम्बन कार्यक्रम” नामक परियोजना संचालन गरेर समुदायको जनजीविका र सामाजिक विकासमा योगदान गरेको थियो । कार्यक्रमको दिगोपनाका लागि सामाजिक परिचालनका माध्यमबाट गाउँपालिकाका सबै वडाहरुमा एक–एक वटाका दरले ७ वटा विषयगत सहकारी संस्थाहरु गठन भएका थिए । तिनै सहकारी संस्थाहरुलाई गतिशील बनाउन सन् २०२१ देखि आरएसडिसीले आफ्नै निजी लगानीमा पृष्ठपोषण गर्दै आएको छ । कोभिड–१९ को महामारीबाट प्रताडित समयमा र २०७९ को भूकम्पको पीडामा स्थानीय सरकारसँग सहकार्य गरेर आरएसडिसीले मानवीय राहत सहयोग गरेको थियो । यसरी आरएसडिसी संस्था खप्तडछान्नाको विकासमा र विपद्मा निरन्तर साथ रहँदै आएको छ । यस पालिकामा आरएसडिसी संस्थाले स्वावलम्बन कार्यक्रमबाट गरेका आर्थिक, सामाजिक विकासका परिसूचकहरु उदाहरणीय छन् । 

स्वावलम्बन कार्यक्रमप्रति समुदायले गरेको विश्वास र भरोसालाई आत्मसाथ गरेर स्वावलम्बन कार्यक्रमको पहिलो चरणमा भएका उपलब्धी र सफलतालाई दिगो बनाउन थप केही समय आरएसडिसीको सघन सहकार्य होस् भन्ने स्थानीय सरकारको अपेक्षा थियो । सोही अनुसार यस संस्थाले विगतमा हासिल गरेका अनुभवहरु, सिकाइहरु र स्थानीय पालिकाका जनप्रतिनिधिहरुसँगको परामर्शमा “खप्तडछान्ना गाउँपालिकाका पिछडिएका समुदायहरु (विशेषगरी महिला) को स्वास्थ्य, सरसफाई, स्वच्छता तथा पिउने पानी WASH र जनजीविकाका लागि क्षमता वृद्धि परियोजना” सञ्चालन भएको छ । 
 
पिछडिएका समुदायहरु (विशेषगरी महिला) को स्वास्थ्य, सरसफाई, स्वच्छता तथा पिउने पानी ९ध्ब्क्ज्० र जनजीविकाका लागि क्षमता वृद्धि परियोजना ः 
जर्मन सरकार र जर्मन अवस्थित माल्टेजर इन्टरनेशनल नामक गैरसरकारी संस्थाको आर्थिक सहयोगमा ग्रामीण स्वावलम्बन विकास केन्द्र (आरएसडिसी)ले खप्तडछान्ना गाउँपालिकाका सबै वडाहरु (७ वटै वडा)मा यो परियोजना लागू गरेको छ । यस परियोजनाले पारिस्थितिक प्रणाली (Ecosystem), जीवजन्तुको संरक्षण, मानिसको जीविकोपार्जनमा र स्वास्थ्यमा सुधार तथा महिला सशक्तिकरणमा योगदान पु¥याउने लक्ष्य राखेको छ । स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्दै आरएसडिसीको सहजीकरण तथा सामाजिक परिचालनको विधिबाट गठन भई कृयाशील रहेका सहकारीसंस्थाहरुलाई परिचालन गरी परियोजनाका गतिविधिहरु संचालन गर्ने छ । स्थानीय सरकारले राखेका विकासका लक्षहरु, उद्धेश्यहरु साकार पार्नमा यो परियोजनाले सहयोगी भूमिका निर्वाह गर्ने छ । यो परियोजनाको सम्झौता अवधि ०१–०९– २०२५ देखि ३१–०८–२०२८ सम्म रहेको छ । समाजकल्याण परिषदबाट स्वीकृती प्राप्त मितिबाट परियोजना पूर्णरुपमा गतिशील हुने छ ।  

परियोजना क्षेत्रको संक्षिप्त जानकारी ः

खप्तडछान्ना गाउँपालिका काठमाडौंदेखि करिव ९१४ कि.मि. दुरीमा नेपालको सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा पर्दछ । बझाङ जिल्लामा १० वटा गाउँपालिका र २ वटा नगरपालिका पर्दछन् । पर्यावरणीय दृष्टिले र पर्यटकीय दृष्टिले अत्यन्त महत्वपूर्ण ठानिने खप्तड क्षेत्रको केही भाग यही खप्तडछान्ना गाउँपालिमा पर्दछ । यस पालिकामा खस आर्य र दलित समुदायका मानिसहरु बसोबास गर्दछन् । भौगोलिक रुपमा विकट र आर्थिक, सामाजिक विकासमा पछाडि परेको यस पालिकामा आर्थिक विकासका संभावनाहरु भने प्रचुर छन् । यहाँ साना–ठूला खोलानालाहरु धेरै छन् । तिनै खोलाबाट साना जलविद्युत आयोजनाहरू संचालनमा छन् । भर्खरमात्र राष्ट्रिय विद्युत प्रसारणमा पहुँच भएको छ ।

यस गाउँपालिकामा केही वर्षयता अस्थायी कच्चि सडक मार्गको सुविधा छ । तर, भौगोलिक कठिनाइले गर्दा सबै बस्तीमा उक्त सडकको पहुँच पुग्न सकेको छैन । यहाँका बासिन्दाहरूको आर्थिक अवस्था कमजोर छ । शिक्षामा पछाडि छ । शिक्षाको कमीले अहिले पनि विशेष गरी बाल विवाह, छाउपडि जस्ता कुरीतिहरु विद्यमान छन् । स्वच्छता, सरसफाई र स्वास्थ्य अवस्था पनि कमजोर छ । यहाँका लागि प्राकृतिक विपद दुःखको अर्को कारण हो । अनपेक्षित रुपमा पहिरो, बाढी, भूकम्प–सृजित सुख्खा पहिरो जस्ता प्राकृतिक विपद्ले वेला–वेलामा प्रताडित हुनुपर्दछ ।  

यस गाउँपालिकाको कुल जनसंख्या १३,४१९ (जनगणना २०७८ अनुसार) रहेको छ । जसमा करिब ३,१०२ घरधुरीहरू छन् । यहाँका बासिन्दाहरु मध्ये ७,३९० (५५.१%) महिला र ६,०२९ (४४.९%) पुरुष छन् । करिब ३३.५% जनसंख्या १४ वर्ष मुनिका बच्चाहरू रहेका छन् भने औसत घरधुरी आकार ४.३३ रहेको छ । 

परियोजनाको लक्ष्य र उद्देश्यहरु ः 

खप्तडछान्ना गाउँपालिकाका समुदायहरुलाई WASH र आयआर्जनका क्षेत्रमा सुदृढ क्षमताको विकास गर्न तथा लक्षित जनसंख्यालाई शुद्ध खानेपानी, खाद्यान्न र आयआर्जनका स्रोतहरुमा पर्याप्त पहुँच पुर्याउनमा योगदान गर्ने ।
परियोजनाको आशातित प्रतिफलहरुः 

१. आशातित प्रतिफल (आउटपुट) १ः खप्तडछन्ना गाउँपालिकाका २,००० घरपरिवारहरूले कृषि मूल्य शृंखलाहरू स्थापना र विकास गर्छन् । यसका लागि आवश्यक संरचना, ज्ञान र स्थानीय संस्थाहरूका सहयोग क्षमताहरू सुदृढ बन्ने छन् ।
२. आशातित प्रतिफल (आउटपुट) २ ः खप्तडछान्ना गाउँपालिकामा लक्षित जनसंख्याका लागि WASH  (पानी, सरसफाइ र स्वच्छता) सुविधाहरूलाई दिगो रूपमा व्यवस्थापन गर्न र क्रमशः सुधार गर्न सक्षम बनाइने छ ।

परियोजनाको लागि जनशक्तिको व्यवस्था र सांगठनीक संरचना ः 

परियोजनाका लक्ष, उद्देश्यहरु र अपेक्षित परिणाम हासिल गर्न निर्धारित गतिविधिहरु तथा कार्यक्रमहरु सफलतापूर्वक संचालन गर्नकालागि आरएसडिसीले खप्तडछान्ना गाउँपालिकामा परियोजना कार्यालय व्यवस्था गरेको छ । समग्र परियोजनाको संस्थागत नेतृत्व आरएसडिसीको केन्द्रीय कार्यालयबाट हुने छ । परियोजना कार्यालयको नेतृत्व परियोजना संयोजकले गर्दछन् । परियोजना कार्यालय अन्तर्गत परियोजना संयोजकका अलावा फिल्ड सुपरभाइजर, वास कोअर्डिनेटर, फिल्डलेखापाल र कार्यालय सहायक गरी ५ जना पूर्णकालीन कर्मचारीहरुको व्यवस्था गरिएको छ । 

स्थानीय सहकारी संस्थाहरुलाई सुदृढ, सवल सक्षम बनाएर परियोजनाका गतिविधिहरुमा तीनको पहुँच बढाउन र परियोजनाबाट लक्षित समुदायलाई लाभान्वित बनाउनमा सहयोगी भूमिका निर्वाह गर्न ७ जना स्थानीय स्रोत व्यक्तिहरु Local Resource Person (LRP) छनौट गरी परिचालन गरिने छ । स्थानीय स्रोत व्यक्तिलाई परियोजनाले हौसला सहयोगको व्यवस्था गर्ने छ । परियोजनाका गतिविधिहरु संचालनका क्रममा विषयगत विज्ञ स्रोत व्यक्तिहरु आवश्यकता अनुसार छनौट गरी परिचालन गरिने छ । परियोजना अन्तर्गत आरएसडिसी केन्द्रीय कार्यालयमा पूर्णकालीन एकजना MEAL Officer हुने छन् । परियोजनालाई कार्यक्रम निर्देशक, लेखा तथा प्रशासन अधिकृतले आंशिक सहयोग गर्ने छन् र कार्यकारी प्रमुखको समग्र नेतृत्व हुने छ ।  

स्थानीय सरकार तथा सरोकारवालाहरुसँगको सम्पर्क, सम्बन्ध र समन्वय ः 

यो परियोजनालाई सफल बनाउन स्थानीय सरकारको अभिभावकीय भूमिका रहने छ । यस परियोजनाले खप्तडछान्ना गाउँपालिकाको स्थानीय सरकारको सहयोगीको भूमिका निर्वाह गर्ने छ । परियोजनाका सबै गतिविधिहरुले स्थानीय सरकारको लक्ष, उद्देश्य हासिल गर्नमा मद्दत पुग्ने छ । परियोजनाबाट संचालन हुने कार्यक्रमहरुलाई स्थानीय सरकारको वार्षिक नीति तथा कार्यक्रममा समावेस गर्न लगाइने छ । परियोजनाका गतिविधिहरु संचालन गर्दा स्थानीय सरकारसँग समन्वय हुने छ । संभव हुने कार्यक्रमहरुमा स्थानीय सरकारसँग साझेदारिता गरिने छ । खप्तडछान्ना गाउँपालिकामा कार्यरत अन्य संघ–संस्थाहरुसँग परियोजनाका उद्देश्यसँग र गतिविधिहरुसँग मेल खाने अवस्थामा समन्वय र साझेदारिता गर्न सकिने छ । अन्य संघ–संस्थामा हुनसक्ने समन्वय र साझेदारिताका लागि स्थानीय सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने छ ।  
  
ग्रामीण स्वावलम्बन विकास केन्द्र (RSDC)को परिचय ः

ग्रामीण स्वावलम्बन विकास केन्द्र (RSDC)नेपालको कानुन अनुसार सामाजिक संघ–संस्था दर्ता ऐन २०३४ अन्तर्गत काडमाडौँ जिल्ला प्रशासन कार्यालय (Reg No. 14-2048-049) मा दर्ता भएको छ । यो संस्था समाज कल्याण परिषदमा आवद्ध नेपालभरी काम गर्ने गैरनाफामूलक सामाजिक गैरसरकारी संस्था हो । विकासका प्रतिफलहरुमा पहुँच नपुगेका, समाजमा पिछडिएका विपन्न समुदायहरुलाई लोकतान्त्रिक विधि, पद्धतिअनुरुप सहभागितामूलक प्रक्रिया मार्फत आफ्नो विकास प्रतिको अधिकार सुनिश्चित गर्न मद्दत गर्ने यस संस्थाको लक्ष्य रहेको छ । 

ग्रामीण स्वावलम्बन विकास केन्द्रका उद्देश्यहरु
    पिछडिएका विपन्न समुदायमा पुगेर उनीहरुलाई आफ्नो ज्ञान, श्रम, सीप र जाँगरमा स्वावलम्बी हुन प्रोत्साहित गर्ने,
    विपन्न समुदायलाई बचत गर्ने बानीको विकास गराई उनीहरुको आर्थिक क्षमता अभिवृद्धि गर्न प्रोत्साहित गर्ने,
    ग्रामीण विकासमा काम गर्ने अन्य संघ–संस्थाहरुसँग संस्थागत अनुभवहरु आदान–प्रदान गर्ने, साझेदारी गर्ने तथा कार्यमूलक अध्ययन अनुसन्धानमा योगदान गर्ने,
    विकासका क्षेत्रमा कार्यरत नेपाल सरकार र अन्य स्वदेशी विदेशी संघ–संस्था वा तिनीहरुको सहयोगमा सञ्चालित कार्यक्रमलाई सफल बनाउन गैरसरकारी संस्थाको हैसियतले ठोस योगदान पु¥याउने, 
    सहकारी तथा वित्तीय संस्थाको प्रवर्धन मार्फत विपन्न समुदायको आर्थिक तथा सामाजिक अवस्थामा सुधार गर्ने,
    कार्यक्रमहरुमा सामाजिक समावेशीकरण र लैङ्गिक समानतालाई समावेशी अवधारणागतरुपमा अपनाउने,
    प्रकृति संरक्षण, वातावरण व्यवस्थापन र जलवायु परिवर्तनका प्रभावहरु न्यूनीकरण सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्ने । 


विस्तृत जानकारीका लागिः
ग्रामीण स्वावलम्बन विकास केन्द्र
५२१÷२५, ईच्छुनदी मार्ग, बालुवाटार, काठमाण्डौं–४
टेलिफोन नंः +९७७–१–४५३८५९६, ४५३५०१०
Email: center@rsdc.org.np

Website: www.rsdc.org.np