असार ५, २०८३, शुक्रबार, खप्तड छान्ना गाउँपालिका, बझांग -
सुदूरपश्चिम खप्तडछान्ना गाउँपालिकाका किसानहरूले वेमौसमी तरकारी तालिम लिएर व्यवसायी तरकारी खेती गर्न उत्साह देखाएका छन् । घरको लागि गर्जो टार्नेगरी सिमित मात्रै मौसमी तरकारी लगाउँदै आएका किसानहरु तरकारी खेती मौसमी मात्रै नभएर वेमौसमी पनि गर्न संभव छ र व्यवसायका रुपमा गरियो भने छोटो समयमा थोरै जमिनबाट पनि राम्रो आम्दानी पनि लिन सकिन्छ भन्ने विश्वास राखेर अगाडि बढ्दै छन् ।
ग्रामीण स्वावलम्बन विकास केन्द्र (RSDC)को आयोजना र जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुखको मुख्य-प्रशिक्षणमा खप्तडछान्ना गाउँपालिकाका २५ जना अगुवा कृषकहरूले २ दिवसीय वेमौसमी व्यवसायिक तरकारी खेती सम्बन्धि तालिम लिएका छन् । तालिममा वेमौसमी तरकारी खेतीको लागि टनेल कसरी निर्माण गर्ने, बीउ कहाँबाट ल्याउने, तरकारीको बेर्ना कसरी तयार गर्ने, विरुवा कसरी लगाउने, रोगकीराबाट कसरी जोगाउने र बढी उत्पादन कसरी लिने भन्ने विषयमा सैधान्तिक ज्ञानका साथै ब्यवहारिक अभ्यास पनि गराइएको थियो ।
खप्तडछान्ना गाउँपालिकाका ७ वटै वडामा RSDC ले सहजीकरण गरेर गठन भएका विभिन्न नामका समुदायमा आधारित सहकारी संस्थाहरुले वेमौसमी व्यवसायिक तरकारी खेती गर्ने अगुवा किसानहरु छनौट गरेर तालिममा सहभागी हुन सिफारिस गरेका थिए । तिनै सहकारी संस्थाबाट सिफारिस भएका अगुवा किसानलाई उक्त तालिम दिइएको थियो ।
खप्तडछान्ना गाउँपालिका वडा नं. ५ को वडा कार्यालयको सभाहलमा औपचारिक कार्यक्रम गरेर तालिमको सुभारम्भ गरिएको थियो । औपचारिक सत्र आयोजक संस्था RSDC का संयोजक धिरेन्द्र आर.सी. को अध्यक्षतामा सम्बन्धित वडाका वडाअध्यक्षको प्रमुख आतिथ्यतामा भएको थियो भने जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख, कृषि शाखाका अधिकृत, RSDC का कर्मचारीहरु र तालिममा सहभागी हुनुहुने अगुवा किसानहरु सहभागी हुनुहुन्थ्यो र कार्यक्रमको संचालन RSDC का फिल्ड सुपरभाइजर कुम्भराज जोशीले गर्नुभएको थियो ।
तालिमको अन्तिममा सहभागीलाई वेमौसमी व्यवसायिक तरकारी खेती गर्नका लागि विभिन्न जातका तरकारीको वीउहरु र टनेलका लागि आंशिक प्लास्टिक हौसला स्वरुप उपलब्ध गराइएको थियो ।
