असार ५, २०८३, शुक्रबार, खप्तड छान्ना गाउँपालिका, बझांग -
खप्तडछान्ना गाउँपालिकामा खानेपानी सरसफाइ तथा स्वच्छता (WASH) व्यवस्थापन समिति (RM-WASH-MC) गठन भएको छ । उक्त समितिले स्वच्छ तथा गुणस्तरीय खानेपानी तथा सरसफाइ सेवा प्राप्त गर्ने नागरिकको मौलिक अधिकारको सम्मान संरक्षण र परिपूर्ति गरी स्वच्छ तथा गुणस्तरीय खानेपानी सेवा सहज रुपमा उपलब्ध गराउने र सरसफाइ स्वच्छता कायम गर्न विशेष जोडदिने उध्देश्य राखेको छ ।
उल्लेखित खानेपानी सरसफाइ तथा स्वच्छता (WASH) व्यवस्थापन समिति गठन गर्न ग्रामीण स्वावलम्वन बिकास केन्द्र (RSDC)ले सहजीकरण गरेको थियो । समिति गठनका सन्दर्भमा RSDC ले WASH को विषयमा विगत देखि गाउँपालिकामा भइरहेका गतिविधिहरु सम्बन्धि जानकारी गराउनुका साथै WASH व्यवस्थापन समितिको आवश्यकता, महत्त्व, गठन विधि सम्बन्धमा सहभागीलाई अभिमूखिकरण गरेको थियो ।
खानेपानी सरसफाइ तथा स्वच्छता (WASH) व्यवस्थापन समिति खानेपानी सरसफाइ तथा स्वच्छता ऐन २०७९ मा भएको प्रावधान अनुसार गठन गरिएको थियो । जस अनुसार खप्तछान्ना गाउँपालिकाका अध्यक्ष उत्तम बहादुर रोकाया अध्यक्ष हुनुहुन्छ भने गाउँपालिकाका उपाध्यक्ष विष्णु कुमार थापा, प्रविधिक शाखा प्रमुख इ. पदमराज जोशी, LACC परियोजना सल्लाहकार भेषराज पाध्य, साझेदार संस्था RSDC का WASH संयोजक सुनिल विश्वकर्मा सदस्य हुनुहुन्छ र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयराज गिरी सदस्य सचिव हुनुहुन्छ ।
खानेपानी सरसफाइ तथा स्वच्छता व्यवस्थापन समिति गठनका लागि औपचारिक कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रम गाउँपालिका अध्यक्ष उत्तम बहादुर रोकायाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष्य, विभिन्न वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शाखा प्रमुखहरु, RSDC का परियोजना संयोजक लगायतका कर्मचारीहरु, LACC परियोजनाका सल्लाहकार र WASH युनिटका कर्मचारीहरुको सहभागिता थियो ।
स्मरण रहोस् RSDC ले जर्मन सरकार र माल्टेजर इन्टरनेशनलको सहयोगमा खप्तडछान्ना गाउँपालिकामा गाउँपालिकासँगको साझेदारी र समन्वयमा जीविकोपार्जन र खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धि गतिविधिहरु गर्दै आएको छ ।
