भाद्र १०, बुधबार, खप्तडछान्ना गाउँपालिका, बझांग - बझाङ खप्तडछान्ना गाउँपालिकामा किसानले स्याउखेती व्यावसायिकरुपमा लगाएर स्याउबाट उत्पादन लिन थालेका छन् । किसानले मिहिनेत गरेर फलाएको स्याउलाई जंगली जनावरबाट विशेषगरी बाँदरबाट जोगाउन चुनौती छ भने जसोतसो जोगाएको स्याउलाई बिक्री गर्न वजार छैन । स्याउ उत्पादक किसानलाई वजार प्रवर्द्धनमा सहयोग पुगोस् भनेर ग्रामीण स्वावलम्बन विकास केन्द्र (आरएसडिसी)ले खप्तडछान्ना गाउँपालिकामा सबैभन्दाबढी स्याउ उत्पादन भएको खालिगाँडा गाउँमा विशेष कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा गाउँपालिकाका उपप्रमुख लगायतका जनप्रतिनिधिहरु, कृषि शाखाका प्रमुख, जिल्लाका पत्रकार, आरएसडिसीका कर्मचारीहरु, सहकारी संस्थाका प्रतिनिधि र स्थानीय स्याउ उत्पादक किसानहरूको सहभागिता थियो । किसान स्वयंलाई र स्थानीय सहकारीलाई ठूला वजारमा विषयगत व्यापारीहरुसँग कसरी सम्पर्क, समन्वय गर्नुपर्छ भन्ने विषयमा यसपटक आरएसडिसीले सहजीकरण गरेको छ र खप्तडछान्ना गाउँपालिका तथा कृषि शाखाले अबको वार्षिक कार्यक्रममा स्याउ प्रवर्द्धनका लागि विशेष कार्यक्रम राख्ने प्रतिवध्दता गरेका छन् । आरएसडिसीको यसप्रकारको सहयोगले स्याउ उत्पादन पकेट क्षेत्र विस्तारमा किसानलाई प्रोत्साहन हुनेछ र वजारीकरणमा सहयोग पुग्नेछ भन्ने आरएसडिसीले अपेक्षा राखेको छ । आफ्नो स्याउ उत्पादन भएको स्थलमा नै यसप्रकारको कार्यक्रम आयोजना गर्नपाएकोमा किसानहरु उत्साहित छन् ।