वैशाख १६, २०८३, बुधबार, बुढानीलकण्ठ - 

ग्रामीण स्वावलम्बन विकास केन्द्र (RSDC) ले सन् २०२२ जनवरी देखि २०२६ अप्रिल महिनासम्म बुढानीलकण्ठ नगरपालिका (बुनपा) मा संचालन गरेको "सक्रिय सहभागिता, नविनतम सोचद्वारा प्लास्टिक पुनःप्रशोधन, वातावरण संरक्षण र महिला सशक्तिकरण (Womenpreneurs4Plastic) परियोजना'' सोही नगरपालिकाको वडा नं. २ मा भएको जनसूचना स्वावलम्बन पर्यावरण संरक्षण सहकारी संस्थालाई औपचारीक समारोहको आयोजना गरी वडा नं. २ का वडा अध्यक्षको रोहबरमा नगरपालिका मेयर, उपमेयर, वातावरण शाखा प्रमुख, पूर्व मेयर, वडा नं. २ का जनप्रतिनिधि, सहकारीका पदाधिकारी, सदस्य, पत्रकारहरुको उपस्थितिमा यही २०८३ साल वैशाख १६ गते विधिवत हस्तान्तरण गरेको छ ।

परियोजनाले महिला समूहहरु बनाउने, कम्पोस्टबिन दिएर कुहिने फ‍ोहोरलाई घरमै कुहाएर कौसीखेति गर्न लगाउने, नकुहिने फोहोरमैलालाई घरमै छुट्याउन लगाएर विक्रि गरेर आम्दानी गर्न लगाउने, सार्वजनिक स्थलमा प्लास्टिक फोहोर संकलनका लागि डस्बिन राख्न लगाउने, प्लास्टिक संकलन केन्द्र (प्लास्टिक बैंक), रिसाइकलप्लान्ट, प्लास्टिक उध्योग मेसिन, सिकाइ केन्द्र, उध्योग संचालनमा चाहिने जनशक्ति निर्माणका लागि तालिम, घुम्तीकोष, संकलन र ढुवानीका लागि विध्युतीय गाडी, सहकारी संस्थाको कार्यालय स्थापना र संचालनका लागि सर-सामान, उपकरण सर-सहयोग सहित आवश्यक तालिम दिएको थियो ।

प्लास्टिक बैंक, रिसाइकलप्लान्ट र सिकाइ केन्द्र रहेको स्थलमा भएको हस्तान्तरण समारोहको अध्यक्षता बुनपा वडा नं. २ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठले गर्नुभएको थियो । प्रमुख अतिथि बुनपा का मेयर मिठाराम अधिकारी, विशेष अतिथि उपमेयर अनिता लामा, पूर्व मेयर उध्दव प्रसाद खरेल हुनुहुन्थ्यो । साथै, वडा नं. २ का जनप्रतिनिधिहरु, बुनपा वातावरण शाखाका प्रमुख, वडा नं. २ का सचिव लगायतका कर्मचारीहरु,सहकारी संस्थाका पदाधिकारी र सदस्यहरु, पत्रकारहरु, RSDC का कार्यकारी प्रमुख तथा कर्मचारीहरु र परियोजनाका कर्मचारीहरु, स्थानीय बुध्दिजीविहरु समारोहमा सहभागी हुनुहुन्थ्यो ।

हस्तान्तरण समारोहमा प्रमुख अतिथि मेयर मिठाराम अधिकारीले मन्तव्य राख्दै भन्नुभयो " बुनपा मा फोहोरमैला व्यवस्थापनमा समुदायको तहमा विशेषगरी महिलाको सक्रियतामा भएको अभ्यास र उपलब्धि उदाहरणीय छ, यसलाई अभियानको रुपमा विस्तार गर्न सक्नुपर्छ, नगरपालिकाले कस्तो सहयोग गर्नुपर्छ प्रपोजल बनाएर दिनुस् सहयोग हुनेछ । RSDC ले गरेको सहयोगका लागि नगरपालिका विशेष धन्यवाद दिन्छ र आगामी दिनमा पनि सहकार्य गर्न इच्छुक छ ।" पूर्व मेयर उध्दव प्रसाद खरेलले मन्तव्य राख्दै भन्नुभयो "यो परियोजनाको अवधारणाबाट म प्रभावित भएको थिएँ, नगरपालिकालाई स्वच्छ, शुन्दर, समृद्ध पर्यटकीय नगर बनाउने नारा थियो । सो नारालाई साकार बनाउन फोहोरमैलाको उचित व्यवस्थापन हुन अनिवार्य छ । उक्त कार्यमा यस परियोजनाले अपनाएको शैली, विधिलाई नगरपालिकाले नै अगाडि बढाउन सकेमा सिङ्गो नगर स्वच्छ हुनसक्ने लागेको थियो । त्यसैले मैले यो परियोजना बुनपा मा लागू गर्न जोड गरेर यहाँ संचालन गर्नका लागि लागू गराउन सफल भएको थिएँ । परियोजनाबाट हासिल भएका उपलब्धि र सिकाइलाई नगरपालिकाले अपनत्व लिएर अगाडि बढाउन जरुरी छ । बुनपा फोहोरमैला व्यवस्थापनमा उपत्यकाको उदाहरणीय नगर बन्न सक्दछ ।" वडा नं. २ का वडा सदस्य बिन‍ोद लामिछानेले भन्नुभयो "परियोजना प्रारम्भमा हामीलाई पनि शंका थियो, धेरै अन्योलता थियो, बुझ्न समय लाग्यो, यसको महत्त्व बुझेपछि भने सिङ्गो वडाले साथ सहयोग गरेको हो । समयमा परियोजनाका गतिविधि हुन पाएको भए अझ धेरै उपलब्धि हुनेथियो भन्ने अहिले महसुस भएको छ । अब अगाडि लैजान वडाको तर्फबाट गर्नुपर्ने साथ सहयोग त हुन्छ नै, एक सामाजिक कार्यकर्ताको हैसियतले मैले व्यक्तिगत पनि चासो दिने र सहयोग गर्ने छु, किनभने यो हाम्रै आफ्नो काम हो ।" सहकारी अध्यक्ष ज्ञानु कार्की थापाले हस्तान्तरणको जिम्मेवारी बहन गर्दै भन्नुभयो "अब परियोजनाबाट गरेका कामको सम्पूर्ण जिम्मा सहकारीमा आएको छ, RSDCले सहकारी संस्थालाई संस्थागत गर्नमा र फोहोरमैला जसलाई हामीले फोहोरमैला नभनेर अवशेष भनेका छौं सो अवशेष व्यवस्थापन गर्नका लागि आवश्यक पर्ने सीप, ज्ञान, स्रोत, मेशिन, उध्योग, पुँजी र ढुवानी साधनको समेत व्यवस्था गरेर जिम्मामा लगाएको छ, यति गरेर दिएको जिम्मालाई हामीले जसरी पनि अगाडि बढाउनै पर्छ । हामी सक्रिय भएर लागियो भने सफल भइन्छ, नगरपालिका र वडाबाट साथ सहयोग र अभिभावकत्व रहने नै छ । RSDC ले पनि अझ केही समय थप सहयोग गरेमा उध्योग अगाडि बढाउनमा संभव हुने थियो । RSDC त्यसका लागि पहल गर्नेछ भन्ने विश्वास छ र अनुरोध पनि छ । यहाँसम्म ल्याउन गरेको सहयोग अतुलनीय छ । सहकारी संस्था RSDC प्रति सदा आभारी रहने छ । हामीलाई सुम्पेको यो अभिभारालाई पूरा गर्न प्रतिवध्द छौं ।" RSDCका कार्यकारी प्रमुख शिव बस्यालले परियोजनाको प्रारम्भ देखि हालसम्मको गतिविधि, प्राप्त उपलब्धि, चुनौती, सिकाई र संभावनाको बारेमा धारणा राख्दै भन्नुभयो "परियोजनाका तर्फबाट RSDC ले अवशेष व्यवस्थापन गर्नका लागि सहकारी संस्था र बुनपा लाई सुनको अण्डा दिने कुखुराको जिम्मा लगाएको छ, अब त्यो कुखुरालाई राम्रोसँग पालेर सहकारीले र बुनपाले निरन्तर सुनको अण्डा लिन सक्नुपर्छ र उपत्यकामा बुनपा उदाहरणीय नमुना नगरपालिका बन्न सक्नुपर्छ । नगरपालिकाले नीति कार्यक्रममा समेट्नु पर्छ, सहकारीको गतिविधिमा अनुगमन गरेर आवश्यक सहयोग गर्नु पर्दछ र सो का लागि अनुरोध पनि छ । साथै BMZ, MI, बुनपा, बुनपा वडा नं. २, सहकारी संस्था लगायत सबैलाई RSDC सँग सहकार्य गरेर परियोजना सफल बनाउनमा सहयोग गर्नुहुने सबैमा विशेष धन्यवाद ज्ञापन गर्दछौं । " वडा नं. २ वडा अध्यक्ष राजेन्द्र श्रेष्ठले समापन मन्तव्यमा भन्नुभयो " फोहोर मैला व्यवस्थापनका लागि यो मोडल अत्यन्त ब्यवहारीक छ, समुदायको परिचालन गरेर समुदायलाई नै जिम्मेवारी सहितको लाभान्वित बनाएर लैजाने यो मोडलको नगरपालिकाले अपनत्व लिन सक्नुपर्छ र अगाडि बढाउन सक्नुपर्छ । परियोजनालाई यसप्रकारको उपलब्धि हासिल हुनेगरी यस अवस्थामा ल्याउनमा मैले पूरापूर साथसहयोग गरें र अबका दिनमा सहकारीको माध्यमबाट अगाडि बढाउनमा पनि निरन्तर साथ हुनेमा प्रतिवध्दछौं । RSDC लाई थप केही समय सहयोग गर्न अनुरोध छ र हालसम्मको सहयोगका लागि विशेष धन्यवाद छ ।"

यो परियोजना ठूला शहरहरुमा फोह‍रमैला व्यवस्थापनमा देखिएको चुनौतीलाई व्यवस्थापन गर्नमा भइरहेका प्रयासमा नौलो अवधारणा हो । दातृ निकाय जर्मन सरकार(BMZ) र माल्टेजर इन्टरनेशनल (MI) संस्थाले नेपाल लगायत भारत, फिलिपिन्स र इन्डोनेसियामा स्थानीय गैरसरकारी संस्थासँगको साझेदारीतामा पाइलटिङ गरेको थियो । नेपालमा RSDC ले स्वावलम्बन मोडलमा यो परियोजना कार्यान्वयन गरेको हो । परियोजनाबाट प्राप्त भएका उपलब्धिहरुको बारेमा राष्ट्रिय कार्यशाला आयोजना गरेर RSDC ले बाह्य सरोकारवाला समक्ष जानकारी गराएको थियो । समग्र परियोजनाको वृत्तचित्र पनि RSDC ले तयार गरेको छ ।

परियोजनाले हासिल गरेका उपलब्धिलाई संस्थागतरुपमा निरन्तरता दिनका लागि जनसूचना स्वावलम्बन पर्यावरण संरक्षण सहकारी संस्थाले जिम्मेवारी बहन गरेको छ । सहकारीलाई स्थानीय सरकार बुढानीलकण्ठ नगरपालिका र सम्बन्धित वडा कार्यालयबाट साथ सहयोग हुने प्रतिवध्दता भएको छ । यो मोडेल फोहोरमैला व्यवस्थापन गर्नका लागि सफल म‍‍ोडेल हुनसक्ने संभावना छ ।