सर्लाही जिल्लाका बलरा नगरपालिका र धनकौल गाउँपालिका तथा महोत्तरी जिल्लाको सम्सी गाउँपालिकाका २५ वटा वडाहरु (सबै वडाहरु)मा खानेपानी सरसफाइ तथा स्वच्छता (खासस्व) योजनाका बारेमा अभिमूखिकरण कार्यशाला सम्पन्न भएको छ। खासस्व योजना र त्यसको महत्व, वडाले निर्वाह गर्नुपर्ने भूमिका, जिम्मेवारी र पालिकासँग कसरी समन्वय गर्ने भन्ने बारेमा सचेतीकरण गर्ने कार्यशालाको उध्देश्य रहेको थियो ।
गत श्रावण १८ देखि २८ गतेसम्म आयोजित कार्यशालामा माथि उल्लेखित ३ स्थानीय तहका २५ वडाका सम्बन्धित वडा अध्यक्ष, वडा सदस्य, वडा सचिब, कम्प्युटर अपरेटर, खासस्व टोल सुधार समितिका प्रतिनिध, विद्यालयका प्रतिनिधि, स्वास्थ्य संस्थाका प्रतिनिध, वडा बाल अधिकार समितिका प्रतिनिधि, खासस्वमा काम गरिरहेका अन्य संस्थाका प्रतिनिधि लगायतका व्यक्तिहरुको सहभागिता थियो। कार्यशालामा ९५ जना महिला र ३ सय ३६ जना पुरुष गरी जम्मा ४ सय ३१ जनाको सहभागिता थियो ।
खासस्व योजनाको लक्ष्य स्वच्छ खानेपानीको पहुँच, उचित सरसफाइ सुविधा र स्वच्छताको व्यवहार प्रवर्द्धन गर्ने र मानिसहरूको स्वास्थ्य, जीवनस्तर र सामाजिक विकासलाई सुधार्ने हो। ग्रामीण स्वावलम्बन विकास केन्द्र (RSDC)द्वारा सञ्चालित ग्लोवल वास परियोजनाको सहयोगमा बलरा नगरपालिका र धनकौल गाउँपालिका तथा सम्सी गाउँपालिकाले लामो अभ्यास गरेर खासस्व योजना (WASH Plan) निर्माण गरेका थिए । उक्त खासस्व योजनाका विविध आयामका विषयमा वडा स्तरीय कार्यशालामा छलफल भएको थियो ।
खासस्व संरचना मात्र निर्माण गरेर दिगो र आवश्यक सेवा दिन नसकिने भएकोले संरचना निर्माण सँगै नीति तथा कानून र जनचेतना पनि आवश्यक पर्ने, विध्यमान खासस्व अधिकांश संरचनाहरु बालबालिका, महिला, अपाङ्गता मैत्री नभएकोले अबका दिनमा उक्त विषयमा ध्यान दिनुपर्ने सहभागीको धारणा थियो । खासस्व योजना कार्यान्वयनको प्रगति तथा खासस्व परियोजनाको निरन्तर अनुगमन र रिपोर्टिङ वडाले गर्नुपर्ने, वडामा दर्ता भएका खासस्व टोल सुधार समिति, अहिले परियोजनामा काम गरिरहेका स्थानीय स्रोत व्यक्ति, स्वास्थ्य संस्था, विद्यालय, टोल विकास संस्था लगायतका खासस्व सम्बन्धित विभिन्न व्यक्तिहरुलाई समेटेर वडा स्तरीय खासस्व समन्वय समिति गठन गरी वास योजनालाइ प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकिने सुझाब कार्यशालाका सहजकर्ताहरुले दिएका थिए ।
स्मरण रहोस् ग्रामीण स्वावलम्बन विकास केन्द्र (RSDC)ले माल्टेजर इन्टरनेशनलसँगको सहकार्यमा मधेश प्रदेश सर्लाही जिल्लाका बलरा नगरपालिका र धनकौल गाउँपालिका तथा महोत्तरी जिल्लाका मनरा शिशवा नगरपालिका र सम्सी गाउँपालिका गरी ४ वटा स्थानीय तहमा विगत तीन वर्ष देखि Global WASH परियोजना सञ्चालन गरी खानेपानी सरसफाइ स्वच्छता (खासस्व) सम्बन्धी गतिविधिहरु गरिरहेको छ ।
