यस वर्षको धान दिवसलाई वाजा-गाजा सहित सामूहिक धान रोपाई गरेर खप्तडछान्ना गाउँपालिकाले विशेष पर्वको रुपमा मनाएको छ ।
सुदूरपश्चिम प्रदेश बझाङ जिल्लाको खप्तडछान्ना गाउँपालिकामा गत असार १५ गते वाजा-गाजा सहितको ठूलो समूहले हरियो टिसर्टमा सामूहिक धान रोपाई गरिरहँदा स्थानीय सर्वसाधारणहरुले अनौठो मानेर हेरिरहे । स्थानीय कृषकहरु धेरैलाई असार १५ गते धान दिवसका बारेमा थाहा थिएन र चासो पनि थिएन । खप्तडछान्नामा पहिलोपटक यसरी जनप्रतिनिधिहरु, पालिकाका कर्मचारीहरु, सामाजिक अगुवाहरु, सामाजिक संस्थाका व्यक्तिहरु र स्थानीय सहकारीका पदाधिकारीहरु सहभागी भएर सामूहिक रोपाइ गरेको देख्दा सबैलाइ नौलो लाग्यो । खप्तडछान्ना गाउँपालिका कै ठूलो धार्मिक स्थलका रुपमा मानिदै आएको खापर जगनाथको पुजा गरेर यस वर्षको २१ औँ राष्ट्रिय धान दिवस खप्तडछान्ना गाउँपालिकामा पहिलोपटक थालनी भएको छ ।
ग्रामीण स्वावलम्बन विकास केन्द्रको समन्वयमा खप्तडछान्ना गाउँपालिकामा गत वर्ष पालिका स्तरीय कृषक सञ्जाल गठन भएको थियो । सोही कृषक सञ्जालको मुख्य समन्वय र खप्तडछान्ना गाउँपालिकाको कृषि विकास शाखाको आर्थिक सहयोग र खापर जगनाथको साझा गुठीको तर्फबाट स्थानीय बाजागाजा व्यवस्था गरेर धान दिवस कार्यक्रम भव्यरुपमा मनाएको समाचार छ ।
सामूहिक रोपाइ कार्यक्रममा स्थानीय सरकारका पदाधिकारी, कृषि महासंघ बझाङ जिल्लाका संयोजक, कृषक सञ्जाल खप्तडछान्नाका संयोजक लगायतका पदाधिकारीहरु, कृषि शाखा प्रमुख लगायतका कर्मचारीहरु, पालिकाको बिषयगत शाखाका कर्मचारीहरु अगुवा कृषकहरु गरी ७० जनाको सहभागिता थियो ।
विगतका वर्षहरुमा धान दिवस जिल्लाको सदरमुकाम आसपासमा सिमित थियो । सदरमुकाम भन्दा टाढा भएका पालिकाहरु जाहाँ शुन्दर फाँटहरु पनि छन् तर पनि ती पालिकाहरुमा धान दिवसको कुनै महत्व थिएन । तर, अब भने क्रमशः धान दिवसको महत्व बढ्दै गएको छ । खप्तडछान्ना गाउँपालिकाको पालिका स्तरीय कृषक सञ्जालले संस्थागत रुपमा नै धान दिवसलाइ मनाएर यस्को महत्व झल्काउने प्रयत्न गरेको छ ।
