News

   

मधेश प्रदेशको महोत्तरी जिल्लाको सम्सी गाउँपालिका र सर्लाही जिल्लाका बलरा नगरपालिका र धनकौल गाउँपालिकामा खानेपानी सरसफाइ तथा स्वच्‍छता (खासस्व) श्रोत परिचालन गर्न पालिका स्तरीय सचेतना कार्यशाला हालै सम्पन्न गरेको छ। ग्रामीण स्वावलम्बन विकास केन्द्र (आरएसडिसी)ले सो सम्बन्धी कार्यशाला आयोजना गरेको थियो । कार्यशालामा सम्बन्धित पालिकाका पालिका प्रमुख, पालिका उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, पालिका कार्यपालिका सदस्यहरु, स्वास्थ्य, शिक्षा, योजना, प्रशासन, महिला विकास, खासस्व का प्राविधिक शाखा प्रमुखहरु, सूचना अधिकृत (IT Officer)हरु  वडा सचिवहरु लगायतका जिम्मेवार व्यक्ति तथा पदाधिकारीहरुका साथै आरएसडिसी का कर्मचारीहरु र स्थानीय स्रोत व्यक्तिहरुको उपस्थिति रहेको थियो।

कार्यशालामा आरएसडिसी Global WASH परियोजनाका संयोजक र फिल्ड सुपरभाइजरहरुले  आर्थिक विकास र वातावरणीय स्थिरताका लागि WASH योजनाको महत्त्वको बारेमा सहभागीहरुलाइ प्रशिक्षित गरेका थिए । सोही क्रममा प्रादेशिक स्तरमा, नगरपालिका तथा गाउँपालिका स्तरमा WASH स्रोतहरू पहिचान गरी परिचालन कसरी गर्न सकिन्छ, समस्याहरू कसरी पहिचान गर्न सकिन्छ र समस्याहरू समाधानका सम्भावनाहरू पहिचान गर्न कसरी सकिन्छ भनेर सहभागितामूलक छलफलबाट गराइएको थियो । साथै कार्यशालामा सहभागीहरुबीच MRR/WASH का आधार स्तम्भहरुको वस्तुगत अवस्था मापन र विश्लेषण गर्न लगाएर पालिकाको MRR/WASH का आधार स्तम्भहरुको औसत अङ्क पुनरावलोकन गरिएको थियो । सोही क्रममा खासस्व योजना निर्माणका चरणहरुका विषयमा विस्तृत छलफल गरी खासस्व योजनाको आवश्यकता, विश्व तथा नेपालमा भएगरेका प्रयासहरु, खासस्व योजना निर्माणका लागि आवश्यक तथ्याङ्क सङ्कलका लागि प्रयोग गरिने नेपाल सरकार खानेपानी मन्त्रालयले विकास गरेका विभिन्न मोबाइल एपहरुको बारेमा सहभागीहरुलाइ जानकारी गराइएको थियो । कार्यशालाको अन्त्यमा सम्बन्धित पालिकाहरुले कुन दिन कुन स्थानमा खासस्व को तथ्याङ्क सङ्कलन गर्ने भनी कार्ययोजना निर्माण गरेका थए ।  

स्मरण रहोस् ग्रामीण स्वावलम्बन विकास केन्द्रले माल्टेजर इन्टरनेशनलसँगको सहकार्यमा सो क्षेत्रमा विगत वर्ष देखि Global WASH परियोजना सञ्चालन गरी खानेपानी सरसफाइ स्वच्छता (खासस्व) सम्बन्धी गतिविधिहरु गरिरहेको छ । यसै क्रममा खानेपानी मन्त्रालय र पालिकासँग समन्वय गरी गणक तथा पालिकाका प्राविधिकहरुलाई तथ्याङ्क र एपहरुबारे तालिम प्रदान गरेर सम्सी गाउँपालिका, बलरा नगरपालिका र धनकौल गाउँपालिकामा खासस्व योजना निर्माणको लागि तथ्याङ्क सङ्कलन कार्य भइरहेको छ र सो कार्य अन्तिम चरणमा पुगेको छ।